नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा कसको नेतृत्वमा सरकार बन्ने भने लागेन टुङ्गो

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ ११:१० बजे
सरकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि दिएको समय  भोलि आइतबार साँझ सकिन लागेको छ । सत्तारुढ दलहरूले आफ्नो सरकार बनाउनको लागि प्रयास चालिरहेका छन् । सत्तारुढ दलहरूले बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न सत्तारुढ गठबन्धन दलबीच बालुवाटारमा छलफल गरिरहेका छन् । सत्तारुढ दलहरूको छलफल अहिले सम्म छलफलमा मात्रै सीमित रहेको छ । 

राष्ट्रपतिले दिएको समय सीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनु पर्ने हुन्छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति पुस १० गतेभित्र दाबी पेस गर्न आग्रह गरेकी हुन् ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नयाँ सरकारमा शक्ति बाँडफाँडमा कुरा मिलेको छैन । पद बाँडफाँडमा सहमति जुटाउन गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा निरन्तर छलफलमै छन् ।

सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (शनिबार) पनि छलफल हुने भएको छ । शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो । छलफलका क्रमका देउवा र प्रचण्ड दुवैको प्रधानमन्त्रीमा दावी रहेकाले कसैले पनि छोड्न नमानेपछि सहमति जुट्न सकेको छैन् । राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ३० साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन् । 

२०७९ पुष ९ ११:१० बजे

प्रतिक्रिया