बागमती प्रदेश सभाको पहिलो बैठक १८ पुसमा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ८ ०६:१४ बजे
बागमती प्रदेश सभा

काठमाडौं ।निर्वाचन आयोगले बागमती प्रदेश सभामा निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन बुझाएसँगै प्रदेश सभा बैठक बोलाउने भएको छ ।  आउँदो १८ पुसमा पहिलो बैठक आह्वान गर्ने तयारी थालिएको छ । 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आगामी १८ पुसमा आह्वान गर्ने तयारी भइरहेको  बताएका छन् । 

यसका लागि  आज हुने सर्वदलीय बैठकमा सरकारले प्रस्ताव पेस हुने छ  । सभाको बैठक बस्नुअघि सांसदहरूको शपथग्रहणको लागि आवश्यक प्रबन्ध मिलाउन पनि सरकारले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ । 

संविधानको धारा १८३ मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । बागमती प्रदेश सरकारले प्रदेश सभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूचीसमेत तय गरेको छ ।

सरकारको तर्फबाट उक्त कार्यसूची प्रदेश सभा सचिवालयमा पठाएर बैठकमा पेस गरिने खनालले बताए । उक्त बैठकमा सदनको नियमित क्रियाकलापपछि सरकारको तर्फबाट पेस भएका कार्यसूचीहरू प्रस्तुत गरिने उनले बताए । 

संसद्को पहिलो बैठकमा सचिवालयको नियमित कार्यक्रमअन्तर्गत सांसदहरूको स्वागत, सम्मान, बधाई ज्ञापनको कार्यसूची रहने छ । सचिवालयमा प्राप्त चिठीपत्र सदनमा पेस भएपछि अन्य विषयहरूमा बैठकमा छलफल हुने छ । 

यसैगरी, बैठकमा सरकारको तर्फबाट सदनमा पेस भएका केही अध्यादेशहरू प्रस्तुत हुने र सोको प्रक्रिया पूरा गरी कानुन निर्माणमा अघि बढ्ने पनि  उनले बताए । 

२०७९ पुष ८ ०६:१४ बजे

प्रतिक्रिया