सुदुरपश्चिम प्रदेशसभा सदस्यको शपथ पुस १५ गते

bimbonline माधवराज जाेशी
२०७९ पुष ७ १२:१९ बजे
सुदुरपश्चिम प्रदेशसभा

 काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा सदस्यको शपथका लागि साइत जुराइएको छ। प्रदेश सभा सचिवालयका अनुसार यहीँ पुस १५ गते प्रदेशसभा सदस्यहरुको शपथको साइत जुरेको हो। प्रदेश सभा सचिवालयका सचीव देवबहादुर बोगटीले १५ गते शपथ ग्रहणको कार्यक्रम रहे पनि समय निश्चित नभएको बताए। प्रदेश प्रमुखसँग छलफलमा रहेको उनले बताएका छन्। पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराइने भनिएकोमा साइत नजुरेकाले १५ गते सारिएको प्रदेश सभा सचिवालयले बताएको छ।

निर्वाचन आयोगले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएसँगै सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शपथ ग्रहणको तयारी सुरु गरेको हो। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार सबैभन्दा ज्येष्ठ प्रदेश सभा सदस्य अछामका मानबहादुर रावल छन्। उनी अछाम निर्वाचन क्षेत्र नं‍ २ (२) बाट निर्वाचित भएका हुन्। ६८ वर्षीय रावलले प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने जैशीले बताए। त्यसअघि, रावललाई प्रदेश प्रमुख जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्।

प्रदेश प्रमुखबाट ज्येष्ठ प्रदेश सभा सदस्य र ज्येष्ठ प्रदेश सभा सदस्यबाट अन्य सदस्यलाई शपथ ग्रहणको कार्यक्रम एकै दिन छ। प्रदेश सभा भवनको हलमै सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम हुने छ। प्रदेश सभा सदस्यको शपथ ग्रहणपछि पुस १८ गते प्रदेश सभा सञ्चालनको तयारी थालिएको छ। प्रदेश सभा सदस्यको शपथ ग्रहणपछि सर्वदलीय बैठक बसेर प्रदेश सभा बैठकको टुङ्गो लगाइने छ। तर, प्रदेश सभा सचिवालयले पुस १८ गतेका लागि तयारी गरेको हो।

सुदूरपश्चिम प्रदेश सभामा ६ राजनीतिक दल र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ। ५३ सदस्यीय प्रदेश सभामा १९ सदस्यसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ। नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकिकृत समाजवादीका चार र राप्रपाका एक प्रदेश सभा सदस्य छन्।

सुदूरपश्चिम प्रदेश सभामा एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलको एक्लो बहुमत छैन। सुदूरपश्चिममा गठबन्धनमा रहेका दलहरुको संयुक्त सरकार बन्ने देखिएको छ।

२०७९ पुष ७ १२:१९ बजे

प्रतिक्रिया