प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै , औपचारिक कार्यकाल आजदेखि नै सुरु हुने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ ०७:४३ बजे
नवनिर्वाचित सांसद

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । 

जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे  प्रपितनिधि सभाकासदस्यहरुलाई पद तथा गोपनीयताको शपथ  गराउने भएका छन्  । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाचित १ सय १० जना गरी कुल २ सय ७५ सदस्य रहेका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कुल सदस्यमध्ये अहिलेसम्म मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या २६ जना रहेको छ ।

मातृभाषामा शपथ लिन चाहने सांसदलाई जानकारीका लागि आज बिहान ११ बजेसम्मको समय दिइएको छ । शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल आजदेखि नै सुरु हुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि अन्त्य भएको छ ।

शपथअघि  ज्येष्ठ सदस्य जबराले बिहान १२ बजे सर्वदलीय बैठक  बोलाउने कार्यक्रम रहेको छ । शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले  सर्वदलीय बैठक आह्वान बोलाएका हुन् । बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता  रहनेछ । प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसद रहेका छन् । प्रतिनिधि सभाको सभामुख र उप सभामुख चयन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

२०७९ पुष ७ ०७:४३ बजे

प्रतिक्रिया