नेकपा (मशाल), नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (बहुमत) को एउटै स्वर देशमा राजनैतिक क्रान्ति अझै पूरा भएको छैन

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २८ १८:३८ बजे
व्यानर

काठमाडौं । नेपालमा राजनैतिक क्रान्ति अझ पूरा नभई सकेकोमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) को मतऐक्यता देखिएको छ । ती पार्टीका शीर्ष तहका नेताहरुले एउटै मञ्चमा उभिएर देशमा राजनैतिक क्रान्ति अझै पूरा नभएको उद्घोष मात्र गरेनन्, सशस्त्र जनविद्रोहलाई संगठित गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गरी वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्ने संयुक्त प्रतिबद्धता समेत व्यक्त गरे । रक्तिम सांस्कृतिक अभियान सहितका तीन सांस्कृतिक संगठनहरुको संयुक्त आयोजनामा २०७९ मंसिर २३ गते राजधानीको अनामनगरस्थित संवाद डवलीको सभाहलमा सम्पन्न एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ती क्रान्तिकारी कम्युनिस्ट नेताहरुले क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

देशमा दलाल पुँजीवादी शोषण शक्तिशाली बन्दै गैरहेको परिप्रेक्षमा क्रान्तिकारी विचार बोक्ने कम्युनिस्ट पार्टी र व्यक्तित्वहरुले एकताबद्ध भएर अगाडि बढ्न अब विलम्व गर्न नहुनेमा ती नेताहरुको मतऐक्यता रहेको थियो । क्रान्तिकारी कम्युनिस्टहरुको अबको कार्यदिशा संसदवादको घेराभित्र खोज्न नहुने उनीहरुको स्पष्ट मत थियो । “सबै क्रान्तिकारी कम्युनिस्टहरु अब एकताबद्ध हुनु आवश्यक छ । अबको दिशा संसदवादको घेराभित्र होइन, अब क्रान्तिकारी कार्यदिशाको जरुरी छ ।” –अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले भने –“संसारभरीको कम्युनिस्ट आन्दोलनको दिशा अब नयाँ तरिकाले खडा हुन्छ । नेपालमा पनि अब हामीले नयाँ जनवाद सहितको वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ । भोट हालेर होइन विद्रोह गरेर अगाडि बढ्नुपर्छ । अब त्यो दिशामा देश जान्छ ।” अन्तक्र्रिया कार्यक्रमको आयोजना नेकपा (मशाल) निकटको रक्तिम सांस्कृतिक अभियान, नेकपा (क्रान्तिकारी–माओवादी ) निकटको अखिल नेपाल जनसांस्कृतिक महासंघ र नेकपा (बहुमत) निकटको अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिले संयुक्त रुपमा गरेका थिए । “नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा” विषयक उक्त अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले इतिहास र वर्तमानको मूल्यांकन गरेर क्रान्तिकारी कम्युनिस्टहरु अगाडि बढ्नु पर्ने बताए । “समाजमा केही परिवर्तन भएकै छैन भन्ने पनि होइन, समाज मात्रात्मक रुपमा परिवर्तन हुँदै आएको छ । तर नेपालमा कम्युनिस्ट पार्टीका नाममा दलाल पुँजीवादी आचारण हावी छ । उनीहरुको व्यवहार पुरातनवादी छ ।” संयोजक कञ्चनले भने–“नेपालमा कम्युनिस्टको नाममा दलाल पुँजीवादीहरु सत्तामा बसेका छन् ।

अब क्रान्तिकारी कम्युनिस्टहरु इतिहास र वर्तमानको मूल्यांकन गरेर अगाडि बढ्नुपर्छ ।” अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढाले नेपालमा राजनैतिक क्रान्ति अझै पूरा नभएकाले सशस्त्र जनविद्रोहलाई संगठित गरी नयाँ जनवाद हुँदै समाजवादी दिशातर्फ अगाडि बढ्नु पर्ने बताए ।“ नेकपा (एमाले) र माओवादी केन्द्र नेपालमा राजनैतिक क्रान्ति पूरा भैसकेको निष्कर्षमा पुगेका छन् । तर देशमा राजनैतिक क्रान्ति अझै पुरा भैसकेको छैन ।” प्रवक्ता बुढाले भने–“देशमा दलाल पुँजीवादी शोषण बलशाली हुँदै गैरहेको छ । शोषणका रुपहरु बदलिएका छन् । अब हामीले सशस्त्र जनविद्रोहलाई संगठित गर्नु पर्दछ ।” कम्युनिस्ट आन्दोलन गठन, विभाजन, पुनर्गठन यस्तै प्रक्रियाबाट अगाडि बढ्दै आएको बताउँदै प्रवक्ता बुढाले दक्षिणपन्थी संशोधनवादीहरुको भण्डाफोर गर्दै अगाडि बढ्न पर्नेमा जोड दिए ।

“दक्षिणपन्थी संशोधनवादीहरुको भण्डाफोर गर्नु तपाई हाम्रो कर्तव्य हो ।” प्रवक्ता बुढाको भनाई थियो –“समाजमा वर्ग रहेसम्म वर्गसंघर्ष जारी रहन्छ । वर्गविहीन समाज निर्माणका लागि अब हामी, सशस्त्र जनविद्रोहलाई संगठित गर्दै नयाँ जनवादी क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवादको दिशातर्फ अगाडि बढ्नुपर्छ ।” नेकपा(क्रान्तिकारी–माओवादी) का प्रवक्ता हरिभक्त कंडेलले अन्तक्र्रियालाई सम्बोधन गर्दै क्रान्तिकारी शक्तिहरुका बीचमा धु्रवीकरण र एकीकरण आवश्यक रहेको बताए । “संसदवादी कम्युनिस्ट शक्तिहरु मिलेराँवादी कार्यदिशामा अल्झेका छन् । निर्वाचनका माध्यमबाट सत्ता परिवर्तन हुनै सक्दैन ।”–प्रवक्ता कंडेलले भने–“संसदीय चुनाव एक कार्यनैतिक प्रश्न हो । हामी त्यसमा अल्झिनु हुँदैन । प्रचण्डहरु त्यसैमा अल्झिएर ढल्नै लागेको संसदीय व्यवस्थालाई टिकाउन लागेका छन् ।

अब क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु ध्रुवीकरण भएर बहसलाई केन्द्रित गर्नुपर्छ । सशस्त्र जनविद्रोहको कार्यदिशा अवलम्वन गर्नुपर्छ । क्रान्तिकारी शक्तिहरुका बीचमा ध्रुवीकरण र एकीकरण अति आवश्यक छ ।” सम्बोधनका क्रममा प्रवक्ता कंडेलले मोहन विक्रम नेतृत्वको नेकपा (मसाल) ले क्रान्तिको आधारभूत मान्यतालाई छाडेको बताए । “नेकपा (मसाल) ले क्रान्तिको आधारभूत मान्यतालाई छोडेको छ । उ पनि मिलेराँबादी कार्यदिशामा अल्झन पुगेको छ । संसदको उपभोगलाई कार्यनीति भन्ने तर रणनीतिक रुपमा उपयोग गर्दै आएको छ ।”–प्रवक्ता कंडेलले भने–“अवसरवादी संगठनहरु भित्र पनि क्रान्तिकारीहरु हुन सक्छन् । हामीले उनीहरुलाई पनि संगठित गर्ने प्रयास गर्नुपर्छ । सशस्त्र जनविद्रोहको कार्यदिशा अवलम्वन गर्नुपर्छ । नयाँ जनवादी क्रान्ति पूरा हुनासाथ समाजवादी क्रान्तिको बाटोमा जानुपर्छ ।” अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ प्रगतिवादी कवि बलराम तिमिल्सीनाले सशक्त चोटिला दुई कविता प्रस्तुत गरेका थिए । “उ को हो” र “कामरेडलाई कामरेडको प्रशिक्षण” शीर्षकका ती कविता मार्फत् कवि तिमिल्सीनाले कम्युनिस्ट आन्दोलनभित्र मौलाउँदै गैरहेको भ्रष्ट संस्कृति प्रति तिखो व्यंग्य प्रहार गरेका थिए ।

रक्तिम सांस्कृतिक अभियानका महासचिव जनगायक लक्ष्मी रिजाल ‘उदय’ ले अन्तक्र्रिया कार्यक्रममा “नछोड बाटो तिमीले” र “यो संसारमा जन्मिएर मैले” बोलका दुई क्रान्तिकारी गीतहरु प्रस्तुत गरेका थिए । अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा जगदिशचन्द्र भण्डारीले गरेका थिए भने संचालन नेकपा (बहुमत) निकटको अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक खेम थपलियाले गरेका थिए । कार्यमक्रममा विषय प्रस्तुति तथा स्वागत मन्तव्य रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माको रहेको थियो ।

२०७९ मंसिर २८ १८:३८ बजे

प्रतिक्रिया