अर्जेन्टिनाका लागि क्रोएसिया मुख्य चुनौती

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १४:४८ बजे
अर्जेन्टिना

काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सोमबार क्रोएसियासँगको खेलअघि क्रोएसिया आफूहरुको लागि चुनौतीको रुपमा रहेको बताएका छन् । उनले टिम नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा जित हात पारेपछि भावनात्मक रुपले आफुहरु थकित भएको बताएका छन् । 

मंगलबार राति १२ः४५ मा लुसेल स्टेडियममा हुने सेमिफाइनल खेलअघिको पत्रकार सम्मेलनमा क्रोएसियाको टिम एकता आफूहरुका लागि ठूलो चुनौती हुने बताए ।

‘हामीले एक प्रतिस्पर्धात्मक खेलको आशा गरेका छौं । यो खेल राम्रो टिमको विरुद्धमा छ । उनीहरु एक टिम बनेर खेल्छन् । यो हाम्रो लागि एक चुनौती हो,’ स्कोलोनीले भने, ‘उनीहरुसँग एक विशिष्ट खेल शैली छ । उनीहरुले यसलाई बदल्दैनन् । क्रोएसियाको टिम न रक्षात्मक खेल्छ न त आक्रामक । उनीहरुसँग यस्ता खेलाडी छन्, जो लामो समयसम्म खेलिरहन सक्छन् ।’

सन् २००६ को विश्वकप खेलेका स्कालोनीले भने, ‘हामीसँग हाम्रो आफ्नो शैली छ । हामी यसलाई बदल्दैनौं । हामीलाई यो राम्रोसँग थाहा छ कि उनीहरुसँग उत्कृष्ट खेलाडीहरु छन् । जसले हामीलाई हराउन सक्ने क्षमता राख्छन् ।’

अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज भने थिएन । पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले त्यसपछिका दुई खेल जितेर समूह विजेता बन्यो । अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ ले हराएपछि क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेको थियो ।

नेदरल्यान्ड्ससँगको क्वार्टरफाइनल खेलमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम १० मिनेट भित्रमै २ गोल खाएपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा पुगेको थियो । उक्त खेलमा १७ खेलाडीले पहेंलो कार्ड पाएका थिए । पेनाल्टीमा ४–३ को जित हात पार्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको थियो ।

अर्जेन्टिनाले दुइपटक विश्वकप आफ्नो हात पारेको छ । बलियो विपक्षी क्रोएसिया खेललाई लम्बाएर पेनाल्टीमार्फत जित निकाल्न माहिर टिम हो ।

हामीलाई (एमिलियानो) मार्टिनेजमाथि पूर्ण विश्वास छ । हामीसँग राम्रो गोलकिपर भए पनि हामी शान्त भने बस्ने छैनौं,’ अर्जेन्टनी टिमका डिफेण्डर निकोलास ट्याग्लियाफिकोले भने, ‘हामी पेनाल्टीमा सुटआउटको अभ्यास गर्न सक्छौं तर हजारौं दर्शकको भावना पनि हामीसँग जोडिएको हुन्छ ।’

 विगतका खेल 

यी दुई टोलीले यसअघि पाँच पटक एक अर्कासँग खेलेका छन् जसमा दुवै टोलीले दुई–दुई पटक जित हात पारेका छन् । एउटा खेल भने बराबरीमा सकिएको थियो ।

१९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले पराजित गरेको थियो । २०१८ मा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गर्दै बदला लिएको थियो । तर यी दुवै खेलहरु समूह चरणका खेल थिए । त्यसैले यी दुई टिमको सेमिफाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुनेछ ।

यदि क्रोएसियाले अर्जेन्टिनालाई हराएमा लगातार विश्वकपमा फाइनल पुग्ने उपलब्धी हासिल गर्नेछ । यस्तै उपलब्धी ब्राजिलले सन् २००२ मा पाएको थियो । २०१४ मा जर्मनीलाई हराएर फाइनल पुगेको अर्जेन्टिना फेरि पनि फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रिनेछ ।

२०७९ मंसिर २७ १४:४८ बजे

प्रतिक्रिया