प्रचण्ड र माधवलाई गोकुलको कटाक्ष ,अर्काको खेतमा मलजल गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १३:२३ बजे
गोकुल बास्कोटा

काठमाडौं। नेकपा एमाले नेता तथा सांसद गोकुल बास्कोटाले नेपालका वामपन्थी  पार्टीहरुले आफुलाई नभएर अरुलाई नै मल जल गरीरहेको  बताएका छन् । कतारमा जारी विश्वकपमा स्पेन हारेको प्रसंग जोड्दै बास्कोटाले वामपन्थी पार्टीहरुमा वाम एकताका स्वर हराउँदै गएको बताएका छन् । 

उनले फेसबुकमा लेखेका छन्,'कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराएजस्तै नेपालका वामपन्थी पार्टीहरुमा वाम एकताका स्वर पनि हराउन थाल्या छन्।'उनले वामपन्थी पार्टीहरुकै कारणले नेपाली कांग्रेस ठूलो पार्टी बनेको दावी गरेका छन्।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कटाक्ष गर्दै अर्काको खेतमा मलजल र गोडमेल गरेर आफ्नो भकारी नभरिने बताएका छन्। सत्ता गठबन्धनसँग मिलेर निर्वाचनमा गएको माओवादी केन्द्रले थोरै सिटमा चित्त बुझाउनु परेपछि केही दिनअघि प्रचण्डले मत ट्रान्सफर नभएको भन्दै दुखेसो पोखेका थिए।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि निर्वाचनमा कम सिट आएपछि  गठबन्धनप्रति सन्तुष्ट छैनन्।प्रचण्ड र माधवलाई कटाक्ष गर्दै बास्कोटाले भनेका छन्,' केही जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भइसक्यो। अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर  गुनासो गर्ने गनगने प्रवृत्ती काम छैन।'

२०७९ मंसिर २१ १३:२३ बजे

प्रतिक्रिया