पार्टीका नेता–कार्यकर्तालाई जेलबाट तत्काल रिहा गर्न सरकारलाई विप्लवकाे दबाब

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १३:५७ बजे
विप्लव

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला  यस्तो दबाब दिएको हो । 

वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले  बताएका छन् । गृहमन्त्री खाँणले पनि सो समस्या समाधान सरकार त्यार रहेको बताएका छन् ।  

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘सरकार र हामीबीच भएको सहमति छिटोभन्दा छिटो यसलाई रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौँ । र, सरकारले के भनेको छ भने हामी यसप्रति इमानदार र प्रतिबद्ध छौँ । यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौँ । र, लागिरहेका छौँ भन्ने सरकारको जवाफ छ । उहाँहरूको अहिले यो  विषयमा पनि थुप्रै एक्सरसाईजहरु चलिराखेका छन् । त्यसैको अभिव्यक्ति पनि होला । आज हेर्दाखेरि वार्ता सकारात्मक छ । तर, अहिले हामीले फोकस गरेको भनेको परिणाम हो । त्यो हेर्नुपर्छ । छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ ।’ 

 उनले भने, ‘धेरै पटक सहमति पनि भएको छ । पछिल्लो सहमति भइसकेपछि त्यो क्याबिनेटले डिसिजन पनि गरिसकेको छ । क्याबिनेटले भनेको के छ भने नेपाल कम्युनिस्ट पार्टी र सरकारको बीचमा भएको वार्तामा र भएका सहमतिहरूमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरूमाथि लगाइएको कतिपय मुद्दाहरू अहिलेको कानुनसँग बाझिने भएको हुनाले र त्यसलाई समाधान गर्नका लागि कानुनी रिक्तता भएको हुनाले यो समस्यालाई समाधान गर्ने भनेर सरकार र हामीबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने भनेर क्याबिनेटले नै भनिसकेको हुनाले कार्यान्वयनको प्रक्रिया फाइनल गर्नुस् भन्ने हाम्रो कुरा हो । त्यही विषयमा आज सरकार सकारात्मक ढङ्गले नै प्रस्तुत भएको छ । र, गम्भीरताका साथ नै प्रस्तुत भएको छ । हाम्रो कुरा यही सरकारले फाइनल गर्नुपर्छ भन्ने छ । त्यो गम्भीरताका साथ सरकार प्रस्तुत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गरी नेकपा शान्ति प्रक्रियामा आएको थियो ।

२०७९ मंसिर २० १३:५७ बजे

प्रतिक्रिया