एकीकृत समाजवादीलाई जनताले दिएको हैसियत, राष्ट्रिय बन्न सकेन

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १९ १६:०५ बजे
एकीकृत समाजवादी

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम  आएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा  कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७-७ तथा लोसपाले ४ सिट जितेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएका छन् ।

नेकपा एसले पाएको हैसियत

सम्पन्न निर्वाचनमा माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादी राष्ट्रिय  पार्टी नबन्ने देखिएको छ । प्रत्यक्ष तर्फ १० सिटमा विजयी हासिल गरे पनि नेकपा एसले समानुपातिकमा थ्रेस होल्ड कटाएको छैन् । एसले समानुपातिकमा ३ प्रतिशत मत नल्याए पछि राष्ट्रिय पार्टीको  नबन्ने देखिएको हो ।  प्रत्यक्ष तर्फ नेकपा एसको भन्दा थोरै एक सिटमा मात्रै विजय हासिल गरेका पार्टीहरू भने राष्ट्रिय पार्टी बन्ने भएका छन् ।  नेकपा एसले समानुपातिकमा २९४३६२ मत ल्याएको जो २.८२ प्रतिशत हुन आउँछ । तर, राष्ट्रिय पार्टी बन्न ३ प्रतिशत मत आवश्यक पर्दछ । 

प्रत्यक्ष तर्फ एक सिट मात्रै जितेको जनमत पार्टी भने राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्ष तर्फ ७ सिट जितेको जनता समाजवादी पार्टी पनि राष्ट्रिय पार्टी बनेको छ । ७७ सिट जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि राष्ट्रिय पार्टी बनेका छन् । निर्वाचनको अघि भने नेकपा एसले आफूले एमालेको भन्दा एक सिट भए पनि बढी ल्याउने बताएको थियो । तर, निर्वाचनको अन्तिम परिणाम आउँदा भने एस राष्ट्रिय पार्टी पनि बन्न सकेन । अब बन्ने सरकारमा पनि नेकपा एसको  ठुलो दावी नरहने देखिएको छ । 

एसबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरू 

राजेन्द्रप्रसाद पाण्डे धादिङ -१ ,मेटमणि चौधरी दाङ -१, प्रकाश ज्वाला सल्यान -१, धन बहादुर बूढा डोल्पा -१ , कृष्ण कुमार श्रेष्ठ बारा -४, अम्मर बहादुर थापा दैलेख-१, शेर बहादुर कुँवर अछाम -१, भानुभक्त जोशी बझाङ -१, प्रेम बहादुर आले डोटी -१ र माधवकुमार नेपाल रौतहट- १ बाट निर्वाचित  भएका छन् । प्रदेश तर्फको नतिजा हेर्न हो भने, एसका विभिन्न प्रदेशमा गरी १५ जना उम्मेदवार निर्वाचित भएका छन् । 

२०७९ मंसिर १९ १६:०५ बजे

प्रतिक्रिया