ऋतुराजले एकै ओभरमा ७ छक्का हानेर जोडे ४३ रन

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १४:२० बजे
ऋतुराज गायकवाड

काठमाडौं । भारतीय क्रिकेट टोलीका युवा ओपनर ऋतुराज गायकवाडले विजय हजारे ट्रफीमा महाराष्टबाट एकै ओभरमा ७ छक्का हान्दै कुल ४३ रन जोडेका छन् । ऋतुराज गायकवाडले भारतको ५० ओभरको लिष्ट ए मान्यता प्राप्त खेलमा उत्तर प्रदेशविरुद्ध एकै ओभरमा ७ छक्का हानेका हुन् ।

क्रिकेट इतिहासमा एकै ओभरमा सात छक्का हाने पहिलो खेलाडी बन्दै कुल ४३ रनको दुर्लभ इतिहास रचेका छन् । एकै ओभरमा बनेको यो सर्वाधिक रन हो । ऋतुराजले ४९ औं ओभरमा शिव सिंहलाई सुरुवाती चार बलमा लगातार चार छक्का हानेका थिए । पाँचौं बलमा नो बलमा गायकवाडले छक्का हानेका थिए । त्यसपछिका बाँकी दुई बलमा लगातार छक्का हान्दै इतिहास रचेका हुन् । लगातार ६ छक्का हान्दा उनले आफ्नो दोहोरो शतक पनि पूरा गरेका थिए ।

क्रिकेट इतिहासमा मान्यता प्राप्त खेलमा एकै ओभरमा ७ छक्का पहिलो पटक प्रहार भएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको महाराष्ट्रले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३० रन बनायो । ऋतुराज गायकवाडले १ सय ५९ बलमा १० चौका र १६ छक्का हान्दै २ सय २० रनको अविजित विष्फोटक शतकीय इनिङ खेले ।

कप्तान समेत रहेका ऋतुराजले भारतबाट एक ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्ने ऋतुराजले लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

२०२१ को आइपिएल उपाधि चेन्नईलाई जिताउन गायकवाडले १६ खेलमा एक शतक र ४ अर्धशतकसहित कुल ६ सय ३५ रन बनाएका थिए । २०२० को आइपिएलमा चेन्नई लिगबाट बाहिरएपछि गायकवाडले डेब्यू अवसर पाएका थिए । त्यसपछि लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

विजय हजारे ट्रफीको यो दोस्रो क्वाटरफाइनल खेल हो । पहिलो क्वाटरफाइनलमा पन्जाब र कर्नाटका खेलेका छन् । तेस्रो क्वाटरफाइनल खेलमा झारखण्ड र आसामबीच प्रतिस्पर्धा भएको छ । चौथो क्वाटरफाइनलमा सौराष्ट्र र तामिलनाडु बीच प्रतिस्पर्धा जारी छ । एजेन्सी 

२०७९ मंसिर १२ १४:२० बजे

प्रतिक्रिया