अन्तरघात गरेको भन्दै स्याङ्जामा एमालेका वडा इन्चार्ज कुटिए

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ १२:२० बजे
अन्तरघात
काठमाडौं । नेकपा एमाले स्याङ्जामा पार्टी भित्र अन्तरघात गरेको  भन्दै वडा इन्चाजैमाथि कुटपिट भएको छ ।  पार्टीभित्र अन्तरघात गरी स्याङ्जा क्षेत्र नं। १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएको भन्दै पुतलीबजार नगरपालिका १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीमाथि केही युवाहरुले सांघातिक आक्रमण गरेका  जनाइएको छ । उनले घर भित्र पसेर शनिबार केहि युवाहरुले आक्रमण गरेको जनाइएको छ  । कुटपिटबाट सुवेदी घाइते भएका छन् । 
उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । सुवेदीको टाउकोमा टाँका लगाइएको छ। जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा लगिएको  परिवारले जनाएको छ । 
आफ्ना बुवालाई संरक्षण गर्न खोज्दा सुवेदीकी १८ वर्षीया छोरी बिनितामाथि पनि आक्रमण भएको छ। उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको सु्वेदी पत्नी जानकीले बताएकी छन् ।  एमालेतर्फका उम्मेदवार मरासिनी कांग्रेसका उम्मेदवार राजु थापासँग पराजित भएपछि अन्तरघातको आशंकामा एमाले समर्थित युवाहरुले एमाले वडा इन्चार्जलाई कुटपिट गरेका हुन्। 
कुटपिटमा संलग्न रहेको भन्दै डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। कुटपिटमा संलग्न युवाहरु फरार रहेका छन् । फरार रहेकाहरुको खोजिकार्य भइरहेको  प्रहरीले जनाएको छ । सुवेदीलाई कुटपिट गर्नुपूर्व उनीहरुले एमाले पार्टी कार्यालय तोडफोड पनि गरेका स्थानियहरुले जनाएका छन् । एमाले स्याङ्जामा नारायणप्रसाद मरासिनी र पद्मा अर्याल खेमाबीच अन्तरघातको आरोप प्रत्यारोप तीव्र देखिएको छ। 
२०७९ मंसिर ११ १२:२० बजे

प्रतिक्रिया