नामिबिया टुरका लागि १४ सदस्यीय नेपाली टोली घोषणा -अटाएनन् भीम सार्की, आदिल आलम र कमल सिंह ऐरी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ५ ११:०७ बजे

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियामा हुने शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । 

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित लिग टु को शृंखला डिसेम्बर १ देखि ८ सम्म (मंसिर १५-२२) नामिबियाको विन्डहोकमा हुनेछ ।

नन्दन यादवलाई समावेश गर्दै  टोली घोषणा गरीएको हो । लिग टु खेल्ने टोलीमा समावेश भएपछि नन्दन यादवले नेपाली राष्ट्रिय टोलीमा इन्ट्री मारेका छन् । उमेर समूहमा उनकै टिममेट रोहित पौडेल अहिले सिनियर टिमको कप्तान बनिसकेका छन् ।

नन्दनले भने नयाँ प्रशिक्षक मनोज प्रभाकरको बगमनपछि पहिलो पटक सिनियर टिममा स्थान बनाए । तर घरेलु मैदानमा युएई विरुद्ध एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) शृखंला खेल्ने टिममा रहेका भीम सार्की, आदिल आलम र कमल सिंह ऐरी भने बाहिरिएका छन् ।

युएई विरुद्ध ओडीआई सिरिज खेलेका १६ मध्ये १३ जना टिममा यथावत छन् । भीम, आदिल र कमलले युएई विरुद्ध तीन खेल शृखंलामा एक खेल पनि खेलेनन् ।

विरुद्धकै खेलमा डेब्यु गरेका अलराउण्डर हरिशंकर शाहले पनि टिममा निरन्तरता पाएका छन् । प्रशिक्षक प्रभाकरले युएई विरुद्ध हरिशंकरलाई दुई खेलमा मौका दिएका थिए ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा नन्दनसहित आसिफ शेख, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, हरिशंकर शाह, सागर ढकाल छन्।

२०७९ मंसिर ५ ११:०७ बजे

प्रतिक्रिया