हिमालय प्रिमियम टेलिभिजनबाट विश्वकपका सबै खेल एक्सक्लुसिभ प्रसारण हुने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ ०६:३३ बजे
 विश्वकप

काठमाडौं । लोकप्रिय टेलिभिजन कन्टेन्ट उत्पादन तथा प्रसारण गरिरहेको हिमालय टेलिभिजन नेटवर्कले आफ्नो दोस्रो च्यानल ‘हिमालय प्रिमियम’ एचडी टेलिभिजनको प्रसारण थालेको छ ।

फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रसारणको अवसर पारेर नेटवर्कले नयाँ प्रिमियम च्यानलको  प्रसारण थालेको हो ।  हिमालय प्रिमियम, नेपालका लागि फिफा विश्वकप २०२२ को एक्सक्लुसिभ टेलिभिजन प्रसारक हो ।

नेपालभित्र विश्वकपका सवै खेल हिमालय प्रिमियम र हिमालय टीभी एचडीबाट मात्र हेर्न सकिनेछ  भएको छ । पहिलोपटक विदेशी च्यानलहरुलाई नेपालमा विश्वकप प्रसारण निषेध गरिएको छ ।हिमालय प्रिमियम ‘पे च्यानल’ अर्थात् सशुल्क च्यानलका रुपमा प्रसारण सुरु भएको छ ।

पे च्यानल बिजनेस मोडल अन्तर्गत पहिलोपटक फिफा विश्वकप २०२२ का खेलहरु यो टेलिभिजनमार्फत् शुल्क तिरेर हेर्न सकिने छ । हिमालय प्रिमियममा विश्वकप प्याकेज खरिद गर्न आफ्ना केबल सेवा प्रदायकमा सम्पर्क गर्नुपर्ने छ । 

भारत लगायतका अन्य मुलुकबाट प्रसारण हुने टेलिभिजन च्यानलहरुले लामो समयदेखि यही मोडलमा सञ्चालित छन् । नेपालमा टेलिभिजन हेर्ने हरेक दर्शकले विदेशी च्यानल जडान गरेबापत शुल्क तिरिरहेका छन्, जसलाई केबल अपरेटरहरुले प्याकेज बनाइ मासिक शुल्कमा समावेश गरेका हुन्छन् ।

आगामी दिनमा विश्वस्तरीय प्रिमियम कन्टेन्टहरु नेपाल ल्याउने र नेपालमै विश्वस्तरीय कन्टेन्टहरु उत्पादन गरी हिमालय प्रिमियममा प्रसारण गरिने टेलिभिजनले जनाएको छ ।

हिमालय प्रिमियम शुभारम्भसँगै नेपालमा सञ्चालित सबैजसो डीटीएच, केबल टीभी, आईपीटीभी, एमएसओ लगायतका टेलिभिजन वितरक संस्थाले टेलिभिजनको सिग्नल वितरण गर्न सुरु गरेका छन् । एसडी र एचडी दुवै माध्यममा हिमालय प्रिमियम च्यानल हेर्न सकिने छ ।

विश्वकप फुटबल २०२२ आजदेखि कतारमा सुरु हुँदै छ । उदघाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।

२०७९ मंसिर ४ ०६:३३ बजे

प्रतिक्रिया