राष्ट्रिय क्रिकेट टोलीको कप्तानि पाएका रोहितकुमारलाई ओलीले दिए बधाई

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २६ ०७:१२ बजे

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान पौडेललाई शुक्रबार कप्तानको जिम्मेवारी  दिएको हो । उनलाई क्यानले जिम्मेवारी दिएपछि नेकपा एमालेका अध्यक्ष ओलीले बधाई दिएका छन् । 

‘नेपाली क्रिकेट टिमको क्याप्टेन नियुक्त हुनुभएकोमा रोहित पौडेललाई हार्दिक बधाई !’ एमालेका अध्यक्ष ओलीले फेसबुकमार्फत भनेका छन्, ‘उहाँको नेतृत्वमा नेपाली क्रिकेटले अझ सफलता प्राप्त गरोस्, शुभकामना !’

रोहितलाई राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि जिम्मेवारी दिइएको हो। सन्दीपमाथि बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। उनी अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्। 

सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग डेब्यू गरेका रोहितले दुई महिनाअघि केन्या भ्रमणको बेला राष्ट्रिय टोलीको कप्तानी गरेका थिए।उनले यसअघि नेपाली यू–१९ टोलीको कप्तानी पनि गरेका थिए।

राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल नियुक्त रोहितले नेपाली राष्ट्रिय टोलीबाट २५ ओडीआई खेलमा १ शतक र ५ अर्धशतकसहित ८ सय ८ रन बनाएका छन्। त्यस्तै, क्यानले युएईविरुद्ध हुने ओडीआई सिरिजका लागि १६ सदस्यीय टोली पनि घोषणा गरेको छ। 

टोलीमा पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरफ शेख, ललित राजबंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउन र गल्सन झा रहेका छन्। नेपाली राष्ट्रिय टोलीले युएईसँग कात्तिक २८, ३० र मंसिर २ गते खेल्दैछ।

२०७९ कात्तिक २६ ०७:१२ बजे

प्रतिक्रिया