पर्वतमा एमाले उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १२:५६ बजे

काठमाडौं । नेकपा एमालेका प्रदेश सभा १ का उमेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास  गरीएको छ ।  ग १ ज ७६९९ नम्बरको जीपमा गए राती आगजनीको प्रयास भएको हो। उक्त जिप चुनाव प्रचारप्रसारमा प्रयोग भएको थियो । जिल्लाको जलजला गाउँपालिका(१ बाँसखर्कमा राती २ बजेको समयमा आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले  बताएका छन् । 

चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँगामुडा सहित आगजनीको प्रयास भएको  कुँवरले बताएका छन् । उनले जनताको घरमा नै बास बसिरहेको बेलामा केही युवाहरुले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र आफूहरु माथि सांघातिक आक्रमणको प्रयास भएको बताए। 

उम्मेदवार कुँवरले प्रयोग गर्ने गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो। डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएता पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको छ। टायर, लाइट र ढोकाहरुमा आगोले क्षति पुर्‍याएको छ। गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएका कारण थप क्षति हुन बाट बचेको हो । 

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्फबाट वडाअध्यक्षका उमेदवार बनेका युवाहरुको नेतृत्वमा घटना घटेको कुँवरको आरोप रहेको छ । कुँवरले आफ्नो जीत सुनिश्चित देखेपछि विरोधीहरु आत्तरिएर आफूहरु माथि सांगातिक आक्रमणमा उत्रिएको बताएका छन् । 

 एमाले पर्वत जिल्ला अध्यक्ष राजु पौडेलले एमालेको पक्षमा जनलहर बढेका कारण विरोधीहरुले आपराधिक शैलीमा उमेदवार माथि आक्रमणको प्रयास गर्नुलाई पाटीले गम्भीरतापूर्वक लिएको बताए छन् । उनले आरोपितहरुलाई पक्राउ गरी तत्काल कानून बमोजीम कारबाही गर्न मागे गरेका छन्।

घटनामा संलग्न नरबहादुर रोकाया नाम गरेका युवालाई घटनास्थलबाट स्थानीय युवाहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। थप युवाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। 

२०७९ कात्तिक २४ १२:५६ बजे

प्रतिक्रिया