यी हुन् कतार विश्वकप खेल्ने ३२ राष्ट्र

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २२ ११:१२ बजे
कतार विश्वकप

काठमाडौं । फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता मात्रै बाँकी रहेको छ । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुन लागेको हो । नोभेम्बर २० मा कतारमा विश्वकप सुरु हुँदैछ । विश्वकप डिसेम्बर १८ मा सकिनेछ र त्यसको एक सातापछि लिगका खेलहरु पुनः सुरु हुनेछन् । यस पटक विश्वकप फुटबल यसअघिका भन्दा फरक हुनेछ ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको २२औं संस्करण हो । पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न समयका हिसावले नेपालीलाई पनि सहज हुनेछ ।

उदघाटन खेल समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच अल खोरस्थित अल बायत स्टेडियममा नोभेम्बर २० मा हुनेछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ ।

कतारमा विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छनोट चरण पार गरेका छानिएका हुन् । जसमा फिफाको शीर्ष वरीयतामा रहेको ब्राजिल देखि ६१ औ वरीयतामा रहेको घानासम्म छ । विश्वकपमा छनोट भएका मध्ये घाना सबैभन्दा तल्लो वरीयताको टोली हो ।

कतार विश्वकप खेल्ने टिमको वरियता शीर्ष ६१ भित्रको रहेको छ । विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।आयोजक कतार आयोजकले नाताले सिधै छनोट हुँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । अष्ट्रेलिया अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो । अष्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ । विश्वकपमा पहिलो पटक एसियाबाट कीर्तिमानी ६ टिमले खेल्न लागेको हो ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए ।कतार विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३ टिमले खेल्दैछन् । यस्तै अफ्रिकाबाट ५, दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट समान ४ टिमले कतार विश्वकप खेल्नेछन् । एसिया महादेशमा दोस्रो पटक विश्वकप आयोजना हुन लागेको छ । त्यसमा पनि मध्यपूर्वी एसियामा पहिलो पटक विश्वकप आयोजना हुँदैछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतार विश्वकपमा पनि डेब्यू गर्दैछ ।

सन् २०१० मा फिफाले कतारलाई विश्वकप आयोजनाको अधिकार प्राप्त गरेको घोषणा गरेको थियो । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा भ्रष्टचार भएको आरोप समेत लाग्दै आएको थियो । यस्तै कतारमा विश्वकपका लागि स्टेडियम निर्माण गर्दा हजारौं कामदारको निधन भएको भन्दै यसको आलोचनासमेत हुँदै आएको छ । तर, यतिबेला कतार विश्वकपलाई जसरी भए पनि सफलतापूर्वक सम्पन्न गर्न लागिपरेको छ ।

यस्तो छ कतार विश्वकपकोसमूह विभाजन

समूह ‘ए’- कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स

समूह ‘बी’- इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स

समूह ‘सी’- अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

समूह ‘डी’- फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

समूह ‘ई’-स्पेन, कोस्टारिका, जर्मनी, जापान

समूह ‘एफ’-बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया

समूह ‘जी’-ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन

समूह ‘एच’- पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया


२०७९ कात्तिक २२ ११:१२ बजे

प्रतिक्रिया