बंगलादेशलाई हराएर पाकिस्तान सेमिफाइनलमा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० १३:३८ बजे
पाकिस्तान

काठमाडौं । प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको पाकिस्तानले आइतबार नाटकीय रूपमा ट्वान्टी-२० विश्वकपको सेमिफाइनल यात्रा तय गरेको छ । एडिलेड ओभलमा भएको सुपर–१२ को ग्रुप–२ को खेलमा उसले बंगलादेशलाई पाँच विकेटले हरायो । यसअघि नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएको हुनाले यो खेलको विजेताले अन्तिम चार प्रवेश गर्ने निश्चित भएको छ ।

जितपछि पाकिस्तानको पाँच खेलबाट छ अंक भएको छ र कम्तीमा केही घण्टाका लागि शीर्ष स्थानमा उक्लेको छ । यसअघि नै सेमिफाइनल पुग्ने निश्चित भइसकेको भारतको पनि छ अंक रहेको छ । आइतबारको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेको सामना गर्नेछ । यो खेलले समूह विजेताको निर्णय गर्नेछ । बंगलादेश चार अंकमै सीमित रह्यो ।

बंगलादेशले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यस क्रममा उसले आठ विकेटमा १ सय २७ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नजमुल हुसेनले ४८ बलमा ५४ रन बनाए । उनले २० रन बनाएका सौम्य सरकारसँग दोस्रो विकेटका लागि ५२ को साझेदारी गरे पनि तल्लो क्रमका ब्याट्सम्यान गतिलो योगदान दिन सकेनन् ।

साहिद शाह अफ्रिदीले पाकिस्तानका लागि २२ रनमा चार विकेट लिए । पाकिस्तानले प्रतिउत्तरमा पाँच विकेट गुमाएर १८.१ ओभरमा १ सय २८ रन बनायो । उसका लागि ओपनर मोहम्मद रिजवानले ३२, मोहम्मद ह्यारिसले ३१ र कप्तान बाबर आजमले २५ रन बनाए । रिजवान र आजमले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । एजेन्सी 

२०७९ कात्तिक २० १३:३८ बजे

प्रतिक्रिया