घोषणा पत्र विहीन चुनावी प्रतिस्पर्धा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ७ ०९:२२ बजे
 चुनावी प्रतिस्पर्धा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको  समय नजिकिएसँगै चुनावी माहोल तात्तीएको छ । निर्वाचनकाे लागि अब २७ दिन मात्रै बाँकी भए पनि दलहरुले घोषणा पत्र ल्याउन सकेका छैनन् ।

घोषणा पत्र लिएर जनताबीच जानुपर्ने प्रमुख दलका शीर्ष नेताहरूको आवश्यकता रहे पनि अहिले दलहरू आरोप प्रत्यारोपमा रमाइ रहेका छन् । मुलुकको भावी नेतृत्वको दाबी गरिरहेका दलहरूले विकास समृद्धिको प्रतिबद्धता छोडेर अहिले वाक युद्धमा ओर्लिएका हुन्  । ठूला दलहरूले अहिलेसम्म घोषणापत्र ल्याउन सकेका छैनन् ।  खास गरेर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमाले नेतृत्वको वाक युद्धले तिहारपछि चुनावी माहोल पनि समृद्धिको बहस भन्दा विगतका राजनीतिक घटनाक्रमको कटाक्ष मै सीमित हुने संकेत देखिएको छ  । 

पार्टी भित्र छलफल नभएकै कारण नेताहरूको आरोप प्रत्यारोपमा उठेको राजनीतिक विश्लेषकहरूको भनाई रहेको छ । नेपाली कांग्रेसले साझा संकल्प पत्र सार्वजनिक गर्दै छ ।  प्रदेश प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आज बिहान १० बजे संकल्प पत्र सार्वजनिक गर्ने भएको हो । नेकपा एमालेले भने घोषणापत्र छट पर्व पछि मात्र सार्वजनिक गर्ने भएको छ । एमालेको घोषणा पत्रको मस्यौदा तयार भएपनि त्यसलाई अन्तिम रूप दिन समय लाग्ने भएकाले एमालेले तिहार र छट पर्व पछि मात्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो  । घोषणा  पत्र निर्माण समितिका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मस्यौदा अध्ययन गरिरहेको जनाइएको छ । घोषणापत्र अध्ययन गरेर आवश्यकता अनुसार थपघट पनि गर्न सकिने एमालले जनाएको छ ।   

नेकपा माओवादी केन्द्रले पनि तिहारपछि मात्रै घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । घोषणापत्र सुझावका लागि पदाधिकारीमा पठाउने तयारी भएको छ । पदाधिकारीबाट प्राप्त सुझावका आधारमा परिमार्जन गरेको घोषणा पत्रलाई अन्तिम रूप दिने नेकपा माओवादी केन्द्रले जनाएको छ  । नेपाल समाजवादी पार्टी नेपालले भने  आफ्नो घोषणापत्र हिजो सार्वजनिक गरिसकेको छ । संविधान संशोधन आर्थिक-सामाजिक,परराष्ट्र ,कृषि रोजगार लगायतका  विषयहरू समेट्दै घोषणा पत्र  सार्वजनिक गरेको हो ।

२०७९ कात्तिक ७ ०९:२२ बजे

प्रतिक्रिया