मिलन पाण्डेको चुनावी घोषणापत्र सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ५ १५:३१ बजे
मिलन पाण्डे

काठमाडौं ।  काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन पाण्डेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। शनिबार स्युचाटारमा आयोजित कार्यक्रममा स्थानीयहरूसँग अन्तरक्रिया गर्दै उनले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

विवेकशील साझा पार्टीका पूर्व संयोजक पाण्डेले पार्टी भित्र संविधानको पक्षमा उभिँदा तत्कालीन समयमा आफूमाथि भएको कारबाही फिर्ता नभएपछि विवेकशील अभियान अन्तर्गत साझा पार्टीको (पाइला) चिन्ह लिएर उठेको बताए ।  

पाण्डेले आफू उम्मेदवारसँगै यही क्षेत्रको मतदाता समेत भएको हुनाले आफ्नो सांसदको रूपमा कृष्ण गोपाल श्रेष्ठले प्रतिनिधित्व गर्न नसकेको बताए। कोभिडको बेलामा केहि नगरेको र शिक्षा मन्त्री भएको बेलामा विद्यार्थीहरूलाई हौसला दिनु सट्टा ‘कोही छ माइकालालरु’ भन्ने असान्दर्भिक भाषण गरेर युवाहरूको अपेक्षालाई घात गरेको समेत बताए। पाण्डेले श्रेष्ठबाट संविधानलाई खतरा रहेको समेत बताए। श्रेष्ठले केपी ओलीले संसद् विघटन गर्दा खुलेर साथ दिएका थिए। 

उनले आफू इन्जिनियर भएको हुँदा विकासलाई वैज्ञानिक र परिणाममुखी तरिकाले बुझेको र आजको आवश्यकता विकास भएकोले आफूलाई अब्बल उम्मेदवारको रूपमा प्रस्तुत गरे। उनले आफू ३३ वर्षको युवा भएकोले अहिलेको नयाँ परिवर्तनलाई थप नजिकबाट बुझेको बताए। ‘गठबन्धन वा एमाले उम्मेदवार जित्दा संसद्मा केहि नयाँपन आउँदैन। एउटा इन्जिनियर युवा उठ्दा सांसदमै ताजापन आउँछ।’ कार्यक्रममा बोल्दै पाण्डेले भने।

पाण्डेले आफुले संसदमा पुगेर शिक्षा नीति र उद्यमशीलताको नीतिमा परिवर्तन गर्न नेतृत्व गर्ने बताए। काठमाडौं क्षेत्र न। ९ मा एमाले बाट कृष्णगोपाल श्रेष्ठ, सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला र मिलन पाण्डेको प्रतिस्पर्धा हुँदैछ। 

२०७९ कात्तिक ५ १५:३१ बजे

प्रतिक्रिया