विश्वकप फुटबल प्रसारण हिमालय टीभीबाट

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ५ ११:०८ बजे
विश्वकप फुटबल

काठमाडौं । विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण गर्ने भएको छ । हिमालय टेलिभिजनबाट दुईवटा च्यानलबाट खेलहरु प्रसारण गर्नेगरी तयारी थालिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।

‘विश्वकपजस्तो ठूलो कन्टेन्ट देखाउन पाउनु टेलिभिजनका लागि आफैंमा ठूलो अवसर भएको उनले बताएका छन् । नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन तत्पर रहेको उनले बताएका छन् ।

ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र केबल वितरकबीच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको उनले बताएका छन् ।

फिफाले यसपटक दक्षिण एशियाली देशहरुमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।

एक्सक्लुसिभ अधिकारका कारण यसपटक नेपालका लागि फुटबल राइट्सको मूल्य अघिल्लोपटक भन्दा ६ गुणा महँगो परेको मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले बताए । धितालका अनुसार योपटक प्रसारण अधिकारका लागि मात्र २५ करोड रुपैयाँभन्दा धेरै तिर्नुपरेको छ । प्राविधिक र अन्य खर्च जोड्दा ४२ करोड रुपैयाँभन्दा धेरै खर्च हुने उनले बताए ।

५ सय रुपैयाँ

विदेशी च्यानलमा हेर्न नमिल्ने गरी नेपालभित्र एक्सक्लुसिभ अधिकार लिँदा ठूलो लगानी गर्नुपरेका कारण यसपटक ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको धितालले .बताए । ‘अघिल्ला विश्वकपमा विदेशी च्यानलले देखाउँथे, उनीहरुका प्याकेज किन्न नेपालका एमएसओ र केबल वितरकहरुले अर्बौं रुपैयाँ तिर्नु पर्दथ्यो, यसपटक किन विदेशी च्यानललाई दिने, पे मोडलमा हामी आफैं काम गरौं भन्ने लागेर एक्सक्लुसिभ अधिकार लिएका धितालले बताएका छन् ।

नेपालमा विश्वकप देखाउन चाहने टेलिभिजन सिग्नल वितरक कम्पनीहरुलाई मिडिया हबले आह्वान गरिसकेको छ । जसअनुसार अहिलेसम्म नेट टीभी र भायनेटले विश्वकप प्रसारणका लागि सम्झौता गरिसकेका छन् ।

‘सबै एमएसओ र केबललाई साथमा लिएर काम गर्न खोजिरहेका धितालले बताएका छन् । नेपाली टेलिभिजन उद्योग र विज्ञापन बजार चलायमान बनाउने यो अवसरलाई सबै मिलेर सफल बनाउने उनको भनाई रहेको छ ।

विश्वकप हेर्न चाहने दर्शकले अहिलेदेखि नै आफ्ना केबल वितरक वा सेवा प्रदायकसँग कुरा गरेर ग्राहक बन्न सक्ने मिडिया हबले जनाएको छ ।सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ ।

२०७९ कात्तिक ५ ११:०८ बजे

प्रतिक्रिया