नेपालका लागि प्रचण्ड–बाबुरामको धार नै उत्तम हो ; भट्टराई

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १२:०५ बजे
डा.बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र पछिल्लो समय प्रचण्ड–बाबुरामले बनाएको धार नै नेपालको निम्ति  उचित भएको बताएका छन् ।  

प्रतिगमनको नेतृत्व गरिरहेको शक्तिले पुष्पलालले नेतृत्व गरेको धारभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेको उनको आरोप रहेको छ ।  

काठमाडौं क्षेत्र नम्बर ७ मा आज बिहान आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालको वामपन्थी आन्दोलनको मूलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’साथै उनले प्रतिगमनलाई रोक्नका लागि पनि आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताए ।

 उनले भने, ‘पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन । बरु उल्टै हिजो संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरुको मतिभ्रष्ट भएर भनौं, विभिन्न शक्तिहरुको चलखेलको कारणले भनौं, फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरु भए । त्यसैलाई यो प्रतिगमन बिरोधी संघर्ष भनेर फेरि यो प्रतिगमनलाई रोक्नको निम्ति हामी एक ठाउँमा आयौं । त्यही क्रममा यो वाम र लोकतान्त्रिक गठबन्धन हामीले निर्माण गरेको हो ।’आगामी मंसिर ४ को निर्वाचनको पहिलो मुद्दा नै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु रहेको  उनले बताएका छन् । 

२०७९ कात्तिक ४ १२:०५ बजे

प्रतिक्रिया