नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिमको जित

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ २१:५९ बजे
नवौं राष्ट्रिय खेलकुद

काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुद अन्र्तगत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपीएफले पहिलो जित निकालेका छ। पोखरामा भएको खेलमा एपिएफले वाग्मतीमाथि चार विकेटको  हराउँदै जित निकालेको हो । त्यसैगरी सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले  जित हात पारेको हो ।  

पोखराको क्रिकेट रंगशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो। वाग्मतीका लागि कप्तान अश्मिना कर्माचार्यले नटआउट १९ रन जोडिन्। 

९० रनको सामान्य लक्ष्य पछयाएको एपीएफले चार बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। एपीएफलाई जितका लागि  रोमा थापाले सर्वाधिक २२ रनको योगदान  गरिन् । त्यस्तै एपीएफकी कप्तान सीता रानामगरले १६, ममता चौधरीले १७ , इन्दु बर्माले ५ रन बनाइन् ।  एपीएफकी नेरी थापा १६ तथा राजमती ऐरी चार रनमा अविजित रहे। वाग्मतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले दुई दुई विकेट लिँदा अस्मिनाले एक विकेट लिइन्। 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ५९ रन बनाएको थियो। गण्डकीका लागि कप्तान श्रृष्टि जैशीले सर्वधिक अविजित २८ रन बनाइन् । गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र साबित्री धामीले एक एक विकेट लिए। ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले ५८ बल बाँकी छँदै चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। सुदूरका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रन बनाउँदा स्नेहा महरा २१ रनमा अविजित रहिन्। गण्डकीकी शिला क्षेत्रीले दुई तथा श्रृष्टि जैशीले एक विकेट लिइन्।

२०७९ असोज २५ २१:५९ बजे

प्रतिक्रिया