देउवाको उम्मेदवारी रद्द गर्न मल्लको उजुरी, नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ १७:३६ बजे
देउवाको उम्मेदवारी रद्द

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। सोमबार देउवाको निर्वाचन क्षेत्र डडेल्धुरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

नेपाली काँग्रेस बिपीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर मल्लले देउवाको मनोनयन खारिजको माग गर्दै उजुरी पेस गरेका छन्। मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उजुरी पेस गरेका हुन्।

सोहीअनुसार देउवाको नागरिकतामा जन्ममिति बिक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। यता, निर्वाचन अधिकृतको कार्यालयले भने यस विषयमा भोलिसम्म निर्णय लिइने जनाएको छ।

उजुरी आएको पुष्टि गर्दै आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उजुरीको प्रकृति हेरेर ऐनअनुसार प्रक्रिया अगाडि चल्ने उनको भनाइ छ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी थिइन्। संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा देउवा २०४८ सालयतादेखि अपराजित छन्।


२०७९ असोज २४ १७:३६ बजे

प्रतिक्रिया