नयाँ नागरिकता विधेयकबारे जान्नैपर्ने ५ प्रावधान

नयाँ नागरिकता विधेयकबारे जान्नैपर्ने ५ प्रावधान

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ७ १५:०६ बजे
नयाँ नागरिकता विधेयक

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव प्रतिनिधि सभामा गरेपछि दफाबार छलफलमा गृहमन्त्री बालकृष्ण खाणले सांसदले दर्ता गराएका मध्येबाट केही संशोधन सरकारले स्वीकार गर्ने जानकारी दिएका थिए।

यससँगै नागरिकता विधेयक संशोधनसहित प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो। अब यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ।

जान्नेपर्ने ५ कुरा

जन्मसिद्धका सन्तानले नागरिकता पाउने

नयाँ विधेयक लागूभएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउने छन्। विधेयकले जन्मको आधारमा नागरिकता पाएका ९जन्मसिद्ध नागरिक० हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ।


२०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो।नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ।

तर कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन्। नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएका उनीहरूको समस्या समाधान हुनेछ।

लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसदबाट पारित नहुँदा उनीहरूको दैनिक जनजीवन समेत प्रभावित भएका थिए।

आमाको नामबाट पनि शशर्त नागरिकता

अब आमाको नामबाट मात्र पनि शशर्त नागरिकता पाइने छ। आमाको नामबाट नागरिकता पाउनका लागि सरकारले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ।

यो विधेयकमा बावुको पहिचान हुन नसकेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ।

गैरआवासीय नेपालीलाई नागरिकता

पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्।

तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्।

लैंगिक पहिचान

गृहमन्त्री खाणले सरकारको तर्फबाट लैंगिक पहिचान व्यक्तिले रोजेर राख्न पाउने संशोधन स्वीकार गरेका छन्। यसअघि सरकारले ल्याएको नागरिकता ऐनको संशोधन विधेयकमा लैंगिक पहिचानको विषय उल्लेख थिएन।

नेपाली महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नागरिकता

यो विधेयकले विदेशी नागरिक पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले अंगीकृत नागरिकताको दफामा ’नेपालमा जन्म भई’ भन्ने शब्द झिक्ने प्रस्ताव स्वीकार गरेका हुन्।

अब नेपालमा जन्म नभए पनि नेपालमा स्थायी बसोबास गरेको र बावुको देशको नागरिकता नलिएको व्यक्तिले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ। त्यसका लागि बावुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको स्वघोषणा व्यक्तिले गर्नुपर्नेछ।

कतिपय नेपाली महिलाको विदेशमा विवाह भएर श्रीमानसँग छुट्टिएको अवस्थामा नागरिकता पाउन समस्या भएका घटना भएका थिए।

२०७९ साउन ७ १५:०६ बजे

प्रतिक्रिया