कांग्रेस : शेखर कोइराला समूहले दियो पार्टी कार्यालयमा धर्ना

यो धर्नापछि बिहीबार बत्तिसपुतलीमा कोइरालाको टिममा रहेका पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल हुने भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १२ १३:५३ बजे
कांग्रेस

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना  दिएका छन् ।  

डा. कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिएको हो। कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित छ।

इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग राखेका छन् । त्यही क्रममा इतर समूह सानेपा पुगेर धर्नामा बसेको हो।धर्नामा कोइराला समूहका दोस्रो तहका नेताहरु सहभागी छन्। धर्नामा संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसीसमेत सहभागी छन्। 

 इतर समूहका नेताहरुको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ।  यही सोमबार बसेको शेखर कोइराला नेतृत्वको समूहको बैठकले बुधबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो। 

यो धर्नापछि बिहीबार बत्तिसपुतलीमा कोइरालाको टिममा रहेका पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल हुने भएको छ।  इतर समूहले प्रदेश १ को समानुपातिक सूची पनि सच्याउनुपर्ने माग राखेको छ । प्रदेशमा पनि अधिकांश देउवा पक्षका नेताहरु समेटिएपछि कोइराला पक्षले यदि नसच्याए आगामी निर्वाचनमा असहयोग गर्ने चेतावनी दिइसकेको छ। 

२०७९ असोज १२ १३:५३ बजे

प्रतिक्रिया